काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिगमा शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले शानदार जित हात पारेको छ । गएराति भएको खेलमा सिटीले लिभरपुललाई उसकै मैदानमा ४-१ ले पराजित गरेको हो ।

खेलको ३७औं मिनेटमा इल्केए गुन्डोगान पेनाल्टीमा चुक्दा सिटीले पहिलो हाफमा अग्रता लिन सकेन । पहिलो हाफमा गोलरहित बराबरी खेलेका दुवै टोलीले दोस्रो हाफमा गोल गर्न सफल भए । ४९ औं मिनेटमा गुन्डोगानले नै गोल गर्दै सिटीले सुरुवाती अग्रता दिलाए ।

त्यसपछि ६३औं मिनेटमा मोहम्मद सलाहले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा फर्काए । तर, ७३औं मिनेटमा गुन्डोगानले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई पुनः २-१को अग्रता दिलाए । ७६औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै सिटीलाई जिततर्फ अघि बढाए । खेलको ८३ औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई ४-१ को शानदार जित दिलाए ।

जितसँगै शीर्षस्थानमा रहेको सिटीले २२ खेलबाट ५० अंक जोडेको छ । पराजित लिभरपुलले भने २३ खेलमा ४० अंक जोडेर चौंथो स्थानमा छ ।