काठमाडौं - शीर्ष चारको दौडमा रहेको लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा गएराति सानदार जित निकालेको छ।

१० खेलाडीमा समेटिएको लिड्स युनाइटेडलाई उसकै मैदानमा ३–० ले हराउँदै चेल्सीले उत्कृष्ट जित निकालेको हो।  चेल्सीलाई जिताउन मासन माउन्ट, क्रिस्टियन पुलिसिस र रोमेलु लुकाकुले एक-एक गोल गरे। 

खेलको चौथो मिनेटमा मासन माउन्टले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाए। २४औं मिनेटमा घरेलु टोली लिड्स १० खेलाडीमा समेटियो। 

ड्यानियल जेम्स सिधै रातो कार्ड पाएर मैदान बाहिरिएका थिए। पहिलो हाफमा १-० ले अघि रहेको चेल्सीले दोस्रो हाफमा थप २ गोल गर्‍यो। ५५औं मिनेटमा क्रिस्टियन पुलिसिसले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे। ८३औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै चेल्सीको सहज जित पक्का गरे ।

यो जितसँगै तेस्रो स्थानमा रहेको चेल्सीको ३६ खेलबाट ७० अंक पुगेको छ। एक खेल कम खेलेको आर्सनलको ६६ अंक छ। पराजित लिड्स ३४ अंक जोडेर १८औं स्थानमा रहेको छ ।

शीर्ष स्थानमा रहेको म्यान्चेष्टर सिटीको ८९ अंक भएको छ भने दोस्रो स्थानमा रहेको लिभरपुलको समान ३६ खेलबाट ८६ अंक पुगेको छ।