काठमाडौं -भारतका उपराष्ट्रपति जगदीप धनखडले पदबाट राजीनामा दिएका छन् । सोमबार साँझ स्वास्थ्यको कारण देखाउँदै उनले राजीनामा दिएका हुन् । राष्ट्रपति द्रौपदी मुर्मुलाई पत्र लेख्दै उनले स्वास्थ्य अवस्था र चिकित्सकको सल्लाहबमोजिम आफूले पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् । 

धनखडको कार्यकाल अगस्ट २०२७ मा मात्र पूरा हुँदै थियो । उनले कार्यकाल सकिनु २ वर्षअघि नै राजीनामा दिएका हुन् । जनता दल, कांग्रेस हुँदै भाजपामा उनी विभिन्न भूमिका निर्वाह गर्दै देशको दोस्रो सर्वोच्च पदमा पुगेका हुन् ।

तर उनको राजीनामाको 'टाइमिङ' लाई लिएर विभिन्न अड्कलबाजी भइरहेका छन् । खासगरी विपक्षी दलहरूले उनको राजीनामामाथि गम्भीर प्रश्न उठाएका छन् । भारतमा उपराष्ट्रपति राज्यसभा सभापतिसमेत हुन्छन् । राज्यसभा सभापतिका रूपमा धनखड्को विपक्षी दलहरूसँग प्राय: टकरावको स्थिति नै रह्यो । यहाँसम्म कि गत वर्षको डिसेम्बरमा विपक्षी गठबन्धन 'इन्डिया' ले उनीविरुद्ध अविश्वास प्रस्तावको नोटिस दिएको थियो ।

धनखडको राजीनामापछि कांग्रेस नेता जयराम रमेशले सामाजिक सञ्जालमा लेखेका छन्, 'उपराष्ट्रपतिको अचानक राजीनामा आउनु अचम्म त छँदैछ, त्यति नै बुझ्न नसकिने पनि । म आज साँझ ५ बजेतिर अन्य सांसदहरूसहित उहाँसँगै थिएँ । साँझ साढे ७ बजे पनि उहाँसँग फोनमा कुराकानी भएको थियो ।' रमेशले धनखडले स्वास्थ्यलाई प्राथमिकता दिनु स्वाभाविक भएको उल्लेख गर्दै अप्रत्याशित राजीनामापछि 'धेरै चिज पाकिरहेको' आशंका गरेका छन् ।