काठमाडौं, एजेन्सी - इटालियन सिरी 'ए' फुटबलमा साविक विजेता युभेन्ट्सले सानदार जित निकालेको छ । गएराति भएको खेलमा युभेन्ट्सले स्पेजियालाई उसैको मैदानमा ४-१ गोल अन्तरले पराजित गरेको हो । युभेन्ट्सको जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । यस्तै अल्भारो मोराटा र एड्रियन राबिओटले एक/एक गोल गरे ।

घरेलु टोलीका टोमासो पोबेगाले एक गोल फर्काए । खेलको १६ औं मिनेटमा मोराटाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । तर, खेलको ३२ औं मिनेटमा स्पेजियाका पोबेगाले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए ।

दोस्रो हाफको ५६ औं मिनेटमा पाउल डिबालाको स्थानमा मैदान प्रवेश गरेका रोनाल्डोले ५९ औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई २-१ को अग्रता दिलाए । ६८ औं मिनेटमा एड्रियनले गोल गर्दै युभेन्ट्सको अग्रता ३-१ को बनाए ।

त्यसपछि खेलको ७७ औं मिनेटमा पेनाल्टीबाट रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई ४-१ को जित दिलाए । कोरोना भाईरसको संक्रमणबाट मुक्त हुँदै मैदान प्रवेश गरेको पहिलो खेलमै रोनाल्डोले दुई गोल गरेका हुन् ।

जितसँगै युभेन्ट्सले ६ खेलमा १२ अंक जोडेको छ । युभेन्ट्स दोस्रो स्थानमा रहेको छ । स्पेजिया ६ खेलमा ५ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।