काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा करिब २०० जना नेपाली रहेको जानकारी सरकारले पाएको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।प्रधानमन्त्री प्रचण्डले भिजिट भिसा र अध्ययन भिसामा रुसमा पुगेका करिब २ सय नेपाली रुसी सेनामा भर्ती भएको जानकारी पाएको र अहिले उनीहरुको खोजी भइरहेको बताए।

प्रधानमन्त्री प्रचण्डले भने,‘रुसी सेनामा पनि नेपाली युवाहरु गएर कोही पढ्न गएका कोही भिजिट भिसामा गएका कोही केमा गएका सेनामा भर्ती भएर ६ जना मरेको त औपचारिक ढंगले जानकारी आयो । अब २ सय भन्दा बढी छन् भन्नेछ, त्यसको खोजी, अध्ययन भइरहेको छ। कोही रुसी सेनामा जाँदा युक्रेनी सेनाको कब्जामा छन् । युक्रेनी सेनामा पनि नेपाली छन्, त्यसको तथ्यांक हामी खोज्दैछौं । विगतमा देख्न व्यहोर्नपर्दैनथ्यो, अहिले अहिले परिरहेको छ । इजरायल र हमासमा १० जना नेपालीको ज्यान गयो १ जना बेपत्ता छन्।’

रुस–युक्रेन युद्ध र इजरायल हमास युद्धका कारण नेपालले नयाँ परिस्थिति ब्यहोर्नुपरेको उनको भनाइ छ । रुसी सेना बनेका नेपाली कोही युक्रेनको कब्जामा रहेको र केही नेपालीहरु युक्रेनी सेनामा रहेको पनि औपचारिक जानकारी आएको प्रचण्डले सुनाए ।