इंग्लिस प्रिमियर लिग : युनाइटेडसँग रोकियो लिभरपुल
काठमाडौं - इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल म्यानचेस्टर युनाइटेडसँग रोकिएको छ ।
आइतबार राति भएको खेलमा लिभरपुलले घरेलु टोली युनाइटेडसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । बराबरीसँगै लिभरपुलको जारि सिजनमा शत प्रतिशत जितको सिलसिला भने टुङ्गिएको छ । तर अपराजित यात्रालाई भने निरन्तरता दिएको छ ।
ओर्ल्ड ट्राफोड मैदानमा युनाइटेडका लागि मार्कस रासफोर्ड ले एक गोल गरेका थिए भने लिभरपुलका लागि एडम लाल्लानाले एक गोल फर्काएका थिए ।
खेलमा घरेलु टोलीले अग्रता लिएको थियो । खेलको ३६ औं मिनेटमा रासफोर्डले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफसम्म युनाइटेडले अग्रता कायम गरे पनि दोस्रो हाफमा अंक बाँड्न पुग्यो । खेलको ८५ औँ मिनेटमा एडम लाल्लानाले गोल गर्दै युनाइटेडसँग अंक खोस्न सफल भए । उनी वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए ।
बराबरीसँगै शिर्षस्थानको अन्तर बढाउन भने लिभरपुल असफल बन्यो । लिगमा लिभरपुल ९ खेल खेल्दै २५ अंकका साथ शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको १९ अंक रहेको छ । म्यानचेस्टर युनाइटेड भने ९ खेलमा १० अंकसहित १३ औं स्थानमा रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस