काठमाडौं,एजेन्सी - कतार विश्वकप २०२२को युरोपियन छनोटको खेलमा इटालीले लगातार दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा इटालीले बुल्गेरियालाई २-०ले पराजित गरेको हो । 

४३औं मिनेटमा एन्ड्रिया बेलोट्टीले पेनाल्टीमार्फत गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए । ८२औं मिनेटमा म्यानुयल लोकाटेल्लीले पासमा गोल गर्दै इटालीलाई २-० को सहज जित दिलाए । 

जितसँगै समूह सीको शीर्ष स्थानमा रहेको इटालीले २ खेलमा ६ अंक जोडेको छ ।अंक विहीन बुल्गेरिया पुछारमा रहेको छ । समूहकै अर्को खेलमा स्वीट्जरल्यान्डले लिथुआनियालाई १–० ले पराजित गरेको छ ।  

यस्तै, समूह जे मा जर्मनीले रोमानियाविरुद्ध १-० को कठिन जित हात पारेको छ । समूह आईमा इंग्ल्याण्डले अल्वानियालाई २-० ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ ।