काठमाडौं - विश्वकप फुटबलको समूह चरणअन्तर्गत दोस्रो खेलमा इरान र बेल्जियमले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

खेलको २४औँ मिनेटमा इरानका मेहेदी तोरबीले बल जाली चुमाए पनि भीएआर जाँचपछि उनी अफसाइड रहेको ठहर गर्दै गोललाई मान्यता दिइएन ।

त्यसपछि बेल्जियमले लगातार आक्रमण गर्दै गोल गर्ने प्रयास गरे पनि इरानी गोलरक्षक एरिरजा बेरानभान्ड उत्कृष्ट लयमा देखिए। उनले बेल्जियमका सबै प्रहार विफल पार्दै टोलीलाई हारबाट जोगाए।

खेलको अन्त्यतिर बेल्जियमका नथान एनग्योए रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भएको थियो। त्यसपछि पनि इरानले संख्यात्मक फाइदा उठाउन नसक्दा खेल ०–० को बराबरीमा सकियो।

यसअघि दुवै टोलीले समूह चरणको पहिलो खेल पनि बराबरी खेलेका थिए। बेल्जियमले इजिप्टसँग तथा इरानले न्युजिल्याण्डसँग अंक बाँडेको थियो। लगातार दोस्रो बराबरीसँगै दुवै टोलीको नकआउट यात्रा अन्तिम समूह चरणको खेलमा निर्भर बनेको छ।