काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उद्घाटन गरेका छन् । 

कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको प्रधानमन्त्री ओलीले आज अपराह्न भर्चुअल माध्यमबाट बालुवाटारबाटै उद्घाटन गरेका हुन् । योसँगै पहिलो युनिटबाट बिजुली उत्पादन सुरु भएको छ । आयोजनाको पहिलो युनिटको क्षमता ७६ मेगावाट रहेको छ । 

आयोजनाबाट उत्पादित बिजुली विद्युत्गृह रहेको गोगरबाट न्यू खिम्ती सवस्टेशन हुँदै ढल्केबर पुग्नेछ । ढल्केबर सवस्टेशनबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन्छ । स्वदेशी लगानीमा नै हालसम्मकै ठूलो आयोजना सम्पन्न भएको हो । शुरुआती लागत रु ३५ अर्ब रहेको भए पनि अमेरिकी डलरको मूल्यमा आएको उतारचढाब, ब्याजलगायतका कारण लागत भने बढेर झण्डै रु ८० अर्बको हाराहारी पुगेको छ । 

यस्तै यही असार मसान्तभित्रै आयोजनाको अर्को एक युनिटबाट समेत बिजुली उत्पादन गर्ने गरी आवश्यक तयारी गरिएको छ ।आयोजनामा कूल छ युनिट रहेका छन् । तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले सो आयोजनाको शिलान्यास गरेका थिए ।