काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आजबाट सुरु हुँदैछ ।

बुधबार र बिहीबार काठमाडौँमा हुने भेलामा देशभरबाट करिब २ हजार नेता–कार्यकर्ता सहभागी हुने सो पक्षकाे दाबी छ । भेलाको सम्पूर्ण तयारी पूरा भएको भन्दै सो पक्षले मंगलबार नै पत्रकार सम्मेलनमार्फत जानकारी दिइसकेको छ । नेकपाको एकतालाई सर्वोच्च अदालतले गत फागुन २३ मा खारेज गरेपछि पूर्ववत् अवस्थामा फर्किएको नेकपा एमालेलाई प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले विभाजनतर्फ लगेको भन्दै भेला राखेको हो । 

आजको सो पक्षको भेलामा पार्टीमा अहिलेसम्म भएका काम, ओली नेतृत्वको एमाले हुँदा भएका कमीकमजोरी र अबको बाटो कस्तो हुने भनेर अवधारणापत्र प्रस्तुत हुने र त्यसमाथि समूहगत छलफल गरेर पारित गर्ने तयारी रहेको जनाइएको छ । 

गत शुक्रबार प्रधानमन्त्री ओलीले एकलौटी ढंगले पदाधिकारी खारेज, केन्द्रीय कमिटी पुनर्गठन र नेताहरुको जिम्मेवारी हेरफेर गरेपछि रुष्ट बनेको खनाल-नेपाल पक्षले ओलीको निर्णयलाई चुनौती दिँदै समानान्तर कमिटी गठन गरेको थियो । सो पक्षले ओलीले एकलौटी रुपमा गरेको निर्णयलाई वैधता नदिन माग गर्दै निर्वाचन आयोगमा पत्रसमेत बुझाएको छ ।