काठमाडौं - आन्तरिक हवाई यात्रामा हवाई यात्रुको एन्टिजेट परीक्षण अनिवार्य नगरिने भएको छ । यसअघि मन्त्रिपरिषद्को बैठकले त्यस्तो निर्णय गरे पनि यो छोटो दूरीको हवाई यात्रामा अव्यवहारिक हुने भन्दै गृह मन्त्रालयमा बुधबार (आज) बसेको बैठकमा यस्तो प्रावधान अनिवार्य नगर्ने मौखिक सहमति भएको हो ।

यसबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले वायुसेवा कम्पनीलाई जानकारी गराएका छन् । सोही अनुसार वायुसेवा सञ्चालक संघले आफ्नो सदस्यहरुलाई सर्कुलर गरेको छ ।

नयाँ निर्णय अनुसार यात्रुले दोब्बर माक्स लगाएको हुनुपर्ने छ भने यस अवस्थामा फेस शिल्ड अनिवार्य गरिने छैन । यात्राको अवधिभर माक्स खोल्न पाइने छैन । यात्रुसँग खोप कार्ड हुनुपर्ने छ । कार्ड बोक्न नसक्दा मोवाइलमा फोटो देखाए पनि हुने व्यवस्था गरिएको छ ।