काठमाडौं-राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनलाई नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले ऐक्यबद्धता जनाएका छन् पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले महावीर पुनको माग सत्ता गठबन्धनको एजेन्डा बन्नुपर्ने पनि बताए ।

आइतबार संस्थापक पुनको आन्दोलनलाई ऐक्यबद्धता जनाउन माइतीघर पुगेका खनालले पुनका मागहरू गठबन्धनको बैठकमा एजेन्डा बन्नुपर्ने र टुंगो लगाउनुपर्ने बताएका हुन् ।

उनले देशका वैज्ञानिकहरूलाई एक घण्टा पनि आन्दोलनमा उत्रिनुनपर्ने परिस्थिति सरकारले निर्माण गर्न आवश्यक रहेको बताए । आफू अहिले भुँइमान्छे रहेको भन्दै उनले आफूले पुनको आन्दोलनमा पूर्ण ऐक्यबद्धता जनाएको पनि बताए ।

उनले महावीर पुनका मागहरू प्रधानमन्त्री एक्लैले समाधान गर्न सक्ने भन्दै प्रधानमन्त्रीले पहलकदमी लिन आग्रह गरे । पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा अनिश्चितकालीन आन्दोलन सुरु गरेका थिए ।