काठमाडौं, एजेन्सी - साविक विजेता लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा लज्जास्पद हार व्यहोरेको छ ।

गएराति भएको खेलमा लिभरपुल एस्टन भिल्लासँग ७-२ गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा एस्टनलाई सानदार जित दिलाउन ओली वाटकिन्सले ह्याट्रिक गरे । यस्तै ज्याक ग्रेयलिसले दुई गोल गर्दा जोन म्याकजिन र रोस बार्क्लीले एक एक गोल गरे ।

लिभरपुलका मोहमद सलाहले दुई गोल फर्काए । भिल्ला पार्कमा खेलको चौंथो मिनेटमा वाटकिन्सको गोलबाट एस्टनले अग्रता दिलाएका थिए । २२ औं मिनेटमा वाटकिन्सले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए ।

खेलको ३३ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई खेलमा फर्काउने कोसिस गरे । तर, ३५ औं मिनेटमा म्याकजिनले गोल गरेपछि एस्टनलाई ३-१ को स्थितिमा पुर्याए ।

खेलको ३९ औं मिनेटमा वाटकिन्सले ह्याट्रिक पुरा गरेपछि पहिलो हाफमा एस्टन ४-१ ले अघि रह्यो ।

५५ औं मिनेटमा बार्क्लीले गोल गर्दै एस्टनलाई ५-१ को अग्रता दिलाए । ६० औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ५-२ को अवस्थामा ल्याए ।

खेलको ६६औं मिनेटमा ग्रेयलिसले गोल गरेपछि एस्टनले ६-२ को अग्रता बनायो । त्यसपछि खेलको ७५ औं मिनेटमा ग्रेयलिसले व्यक्तिगत दोस्रो गोल गर्दै एस्टनलाई ७-२ को सानदार जित दिलाए ।

जितसँगै एस्टनले ३ खेलबाट ९ अंक जोडेको छ । अपराजित एस्टन दोस्रो स्थानमा समेत उक्लिएको छ । ४ खेलमा लिभरपुलले ९ अंक जोडेको छ । लिभरपुल पाँचौ स्थानमा रहेको छ ।