नेपाल युएनमा फौज पठाउने मुलुककाे चौथो स्थानमा उक्लियो
काठमाडौं - संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सुरक्षा फौज (सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी) पठाउने मुलुकमध्ये नेपाल चौथो स्थानमा उक्लिएको छ । इथियोपिया, बंगलादेश र रुवान्डापछि नेपालको ठूलो फौज युएन मिसनमा सहभागी छ ।
भारत, पाकिस्तान, इजिप्ट, घाना, इन्डोनेसिया, चीनलगायतका देश नेपालभन्दा पछि छन् भने छिमेकी देश चीन दसौँ स्थानमा छ । शान्ति स्थापक फौजमा गएका नेपाली महिला सैनिकहरू विश्वका धेरै महिला सैनिकहरूमध्ये पाँचौँ स्थानमा छन् ।
सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेका अनुसार संयुक्त राष्ट्रसंघको आह्वानमा विश्व शान्ति स्थापना कार्यका लागि फौज पठाउने विश्वका एक सय २२ देशमध्ये यो वर्षबाट नेपाल चौथो स्थानमा उक्लिन सफल भएको छ । नेपालले भारतलाई उछिनेर चौथो स्थानमा पुगेको हो ।
हाल विश्वका १२ वटा द्वन्द्वग्रस्त मुलुकहरूमा तैनाथ भएका नेपाली कन्टिन्जेन्ट, सैनिक पर्यवेक्षक र स्टाफ अधिकृतहरू गरी जम्मा पाँच हजार ६ सय ५८ जना सुरक्षाकर्मी कार्यरत छन् ।
यीमध्ये नेपाली सेनाका पाँच हजार ९६ शान्ति सैनिक छन् भने नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका पाँच सय ६२ जना फौज तैनाथ छन् ।
शान्ति स्थापक मिसनमा नेपालभन्दा बढी इथियोपियाबाट ६ हजार ६ सय ३९ जना, बंगलादेशबाट ६ हजार चार सय १३ जना, रुवान्डाबाट ६ हजार दुई सय ९२ जना कार्यरत छन् ।
पाँचौँ स्थानमा भारतका पाँच हजार चार सय चारजना सैनिक कार्यरत छन् । भारतपछि पाकिस्तानका चार हजार तीन सय ११, इजिप्टका तीन हजार एक सय १३, घानाका दुई हजार सात सय ७४, इन्डोनेसियाका दुई हजार सात सय पाँच, चीनका दुई हजार पाँच सय ४४, तान्जानियाका दुई हजार तीन सय पाँच, सेनेगलका दुई हजार दुई सय ४९ जना कार्यरत छन् ।'
नयाँ पत्रिकाबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस