काठमाडौं, एजेन्सी - किङ्स इलाभेन पन्जाबले युएईमा जारी १३ औं संकरणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार तेस्रो जित हात पारेको छ ।

गएराति भएको खेलमा शीर्ष स्थानको दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ६५ रनको लक्ष्य पन्जाबले १९ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।

पन्जाबको जितमा निकोलस पुरनले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । ग्लेन म्याक्स्वेल ३२ रनमा आउट हुँदा दिपक होडाले अविजित १५ रन बनाए ।

यस्तै क्रिस गेलले २९ रन जोड्दा कप्तान केएल राहुलले १५ रन बनाए । दिल्लीका कागिसो राबडाले दुई विकेट लिए । अक्षर पटेल र रविचन्द्र आश्विनले १/१ विकेट लिए ।

यस अघि ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । दिल्लीका लागि शिखर धवनले अविजित रहदै १ सय ६ रनको शतकीय इनिङ्स खेले । धवनले लगातार दोस्रो खेलमा शतक बनाएका हुन् ।

यस्तै कप्तान श्रेयस आयर र ऋषब पन्तले समान १४/१४ रन बनाए । शिम्रन हिटमायर १० रनमा आउट भए ।

पन्जाबका मोहमद शामीले २ विकेट लिए । यस्तै ग्लेन म्याक्सवेल,जेम्स निशम र मुरुगान आश्विनले १/१ विकेट लिए ।

जितपछि पन्जाबले १० खेलमा ८ अंक जोडेको छ । पन्जाब तालिकाको पाँचौ स्थानमा समेत उक्लिएको छ ।दिल्लीको भने यो तेस्रो हार हो । दिल्लीले १० खेलमा १४ अंक जोडेको छ । दिल्ली शीर्ष स्थानमा यथावत रहेको छ ।