काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपाको संसदीय दलको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ओली समूहका सांसदको बैठक बस्न लागेको हो ।  

यसअघि हिजो (शुक्रबार) मात्र प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठक राखेर पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको थियो । उक्त समूहले आफ्ना पक्षमा १११ सांसद रहेको दाबी गरेको छ । दुबै समूहले ससंदीय दलमा आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्दै आएका छन् । 

यसैबीच, प्रधानमन्त्री ओलीले नेकपा उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई शनिबार बस्ने आफ्नो  समूहको संसदीय दलको बैठकमा आउन आग्रह गरेको स्रोतले बताएको छ ।

भैसेपाटीस्थित गौतम निवास पुगेका प्रधानमन्त्री ओलीले शनिबार बस्ने संसदीय दलको बैठकमा आउन आग्रह गरेका हुन् ।

 नेकपा संसदीय दलका नेताको चयनका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनका सांसदको मत लिनुर्ने प्राबधान छ । 

नेकपामा प्रतिनिधि सभामा १७२ (१ जना सभामुख र निधन भएका सांसदसहित १७४) सांसद छन् भने राष्ट्रिय सभातर्फ ४९ (अध्यक्षसहित ५०) सस्दय रहेका छन् ।