रुपन्देही - रुपन्देहीमा ६० वर्षीया वृद्धाको हत्या आरोपमा १५ वर्षीय एक किशोर पक्राउ परेका छन् ।

जिल्लाको शुद्धोधन गाउँपालिका-१ सिसइचोककी ६० वर्षीया रेनु पटवाको हत्या अभियोगमा सोहि ठाउँकै १५ वर्षीय किशोर पक्राउ परेका हुन् । 

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार गत चैत २ गते राति आफ्नै पसलमा सुतिरहेकी पटवामाथि कैची प्रहार गरी हत्या गरिएको थियो।

घटनाबारे भोलिपल्ट बिहान मात्रै स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरिएको थियो । इलाका प्रहरी कार्यालय बुटवलबाट प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तव र इलाका प्रहरी कार्यालय रन्यौराबाट प्रहरी निरीक्षक प्रलाद केसीको कमान्डमा टोली घटनास्थल पुगेको थियो । मुचुल्का उठाएर अनुसन्धान अघि बढाइएको थियो ।

प्रहरीका अनुसार मध्यरातमा भएको उक्त घटनामा किशोरले मृतकको टाउको, अनुहार र घाँटीमा अन्धाधुन्ध कैची प्रहार गरेका थिए । घटनापछि फरार रहेका किशोरलाई प्रहरीले गत शनिबार नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानका क्रममा पक्राउ परेका किशोर लागुऔषध सेवनकर्ता रहेको खुलेको छ । उनले प्रारम्भिक बयानमा लागुऔषध सेवनका लागि पैसा आवश्यक परेकाले चोरी गर्ने उद्देश्यले गएको र विवाद भएपछि आवेगमा हत्या गरेको स्वीकारेका छन्। घटनामा संलग्न रहेका आरोपमा पक्राउ परेका किशोर मृतककै छिमेकी हुन् ।

जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।