काठमाडौं - प्रधानन्यायाधीश संवैधानिक इजलासमा बस्ने/नबस्ने विवादसम्बन्धी रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेको छ । प्रधानन्यायाधीश संवैधानिक इजलासमा बस्नैपर्ने संवैधानिक दायित्व भएकाले प्रधानन्यायाधीशकै नेतृत्वमा संवैधानिक इजलास गठन गर्न माग गरिएको र आफ्नो मुद्दा आफैले हेर्न नहुने प्राकृतिक न्यायको सिद्धान्त बमोजिम प्रधानन्यायाधीश बाहेकको इजलासको गठन माग गर्दै सर्वोच्चमा रिट दायर भएको थियो ।

यससम्बन्धी रिटको आज न्यायाधीश फुयालको इजलासमा सुनुवाइ हुन लागेको हो । अधिवक्ता गणेश रेग्मीले प्रधानन्यायाधीश संवैधानिक इजलासमा बस्नैपर्ने भन्दै रिट दायर गरेका थिए । भने अधिवक्ता दीपकविक्रम मिश्रले प्रधानन्यायाधीश वा न्यायाधीशले आफ्नो स्वार्थ जोडिएको मुद्दा हेर्न नमिल्ने दाबी गर्दै दायर गरेका थिए ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा गठन भएको संवैधानिक इजलास र केही दिनअघि अध्यादेशमार्फत संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गरेर संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरिएका थिए । त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो । ९ महिनापछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक इजलास गठन गरेपछि विवाद भएको थियो । प्रधानन्यायाधीश राणासमेत विपक्षी बनाइएको मुद्दामा सुनुवाइका लागि बस्न नहुने रिट निवेदक कानुन व्यवसायीहरुले माग गरेका थिए । सोही अन्तर्गत प्रधानन्यायाधीश राणाले इजलास गठन र अन्तिम दिन बिदामा बस्ने निर्णय गरिसकेका छन् ।