काठमाडौं - संघीय सरकारले देशभरका विभिन्न स्थानीय तहमा प्रशासनिक नेतृत्व सुदृढ बनाउने उद्देश्यसहित ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै रिक्त रहेका पदहरूमा कर्मचारी पठाएको हो ।

मन्त्रालयका अनुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह अन्तर्गतका राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) वा सो सरहका कर्मचारीलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको हो । लामो समयदेखि रिक्त रहेका पदहरूमा कर्मचारी खटाइएसँगै स्थानीय तहको सेवा प्रवाह, प्रशासनिक समन्वय र विकास निर्माणका कामहरू थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको अभाव हुँदा दैनिक प्रशासन सञ्चालनदेखि बजेट कार्यान्वयनसम्ममा समस्या देखिँदै आएको थियो । अब नयाँ नियुक्तिसँगै ती समस्या समाधान हुने विश्वास मन्त्रालयले लिएको छ।