मोरङमा थप ५ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं,विराटनगर - मोरङमा थप ५ जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । चार जनाको उपचारका क्रममा अस्पतालमा र एक जनाको होम आइसोलेसमा मृत्यु भएको हो ।
नोबेल शिक्षण अस्पतालमा उपचार गराइरहेका ३ जनाको मृत्यु भएको हो । मृत्यु भएकामध्ये झापा र सुनसरीका दुई महिला तथा मोरङका एक पुरुष रहेको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिएका छन् । झापाको गौरादह–२ की ४९ वर्षीया महिलाको आज बिहान ८ बजेतिर मृत्यु भएको हो । उक्त महिलालाई कात्तिक ४ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
त्यस्तै, सुनसरीको इटहरी–३ की ४० वर्षीया महिलाको पनि नोबेलमै बिहान ८ बजे मृत्यु भएको छ । महिलालाई बुधबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
मोरङको रंगेली नगरपालिका–८ का ५५ वर्षीय पुरुषको पनि बिहान साढे बजेतिर मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि कात्तिक १७ गते उपचारका लागि भर्ना गरिएको थियो । मृतकहरुमा स्वासप्रश्वासको समस्या देखिएको थियो ।
त्यस्तै, मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचाररत एक महिलाको मृत्यु भएको छ । झापाको दमक–६ की ४६ वर्षीया महिलाको बुधबार राति ८ बजेतिर मृत्यु भएको हो । महिलालाई उपचारका लागि बुधबार बिहान ल्याइएको थियो ।
उता मोरङको उर्लाबारी– ८ की ४५ वर्षीया संक्रमित महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ । कात्तिक १५ गते रिपोर्ट पोजिटिभ आएका उनको बुधबार राति मृत्यु भएको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस