सप्तरीमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु
काठमाडौं - सप्तरीको राजगढ गाउँपालिका- २ कमलपुरमा प्रहरीले गोली प्रहार गर्दा एकजनाको मृत्यु भएको छ। मंगलबार राति मदिरा तस्करी रोक्न पुगेका प्रहरी र स्थानीयबीच झडप हुँदा गोली लागेर एकजनाको मृत्यु भएको हो।
राजगढ गाउँपालिका करिब ३६ वर्षीय लालु यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। गोली लागेर घाइते भएका यादवको उपचारको क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले स्थिति नियन्त्रणमा लिन केही राउण्ड गोली चलाएको र तिघ्रामा गोली लागेका यादवको मृत्यु भएको बताए । उनका अनुसार झडपमा एक प्रहरी पनि घाइते भएका छन् ।
यसक्रममा भारततर्फ तस्करी गर्न लागेको केही कार्टुन मदिरा समेत नियन्त्रणमा लिएको जनाएको छ।
सीमा नजिकबाट ठुलो परिमाणमा मदिरा भण्डार गरी तस्करी भइरहेको सूचनाबमोजिम ‘सर्च अपरेसन’ चलाउँदा तस्कर र प्रहरीबीच झडप भएको बस्नेतले जानकारी दिए।
फेसबुक पेज Like गर्नुहोस