बुटवल - यही चैत १६ गते बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएका बाबुराम थापाको शव अहिलेसम्म उठ्न सकेको छैन ।

रुपन्देहीको सैनामैनाका ३४ वर्षीय थापाको मृत्युको कारण अस्पतालले नखुलाएको भन्दै आफन्तले शव नबुझेका हुन् । परिवार र आफन्तले उपचार नपाएर ज्यान गएको भन्दै छानबिनको माग गर्दै आएका छन् ।

मृतक थापाकी श्रीमती रिताले रुघा–खोकी र ज्वरो आएर अस्पताल गएका श्रीमानको उपचार नपाएकै कारण मृत्यु भएको दाबी गर्दै आएकी छन् । चैत ६ गते दुबईबाट काठमाडौं आएका थापा ७ गते रुपन्देही घर पुगेका थिए ।

घर जानेक्रममै सामान्य ज्वरो आएका उनले घरमै बसेर औषधि खाइरहेको र एक्कासि उच्च ज्वरो आउने तथा सास फेर्न मुस्किल भएपछि १३ गते अस्पताल गएका थिए ।उनको अस्पतालमै मृत्यु भएको थियो । पछि उनको स्वाब परीक्षण गर्दा भने कोरोना संक्रमण नभएको ‘रिपोर्ट’ आएको थियो ।