प्रधानमन्त्री देउवाको अभिव्यक्तिको गगनले गरे विरोध,'खनालको उपचार खर्च सरकारले व्यहोर्नुहुन्न’
काठमाडौं - सत्तारुढ नेपाली काँग्रेसका सांसद गगन थापाले व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी भएको बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको राजधानी नयाँ दिल्लीमा उपचाररत एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचारमा लाग्ने खर्च सरकारले बेहोर्ने बताएपछि नेता थापाले सरकारको विरोध गर्दै यस्तो बताएका हुन् ।
‘कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी हो र अघिल्लो सरकारले कानून विपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्ने कुरामा तपाईं सचेत हुनुहुन्छ ।’ थापाले सामाजिक सञ्जालमार्फत् भने ।
उनले २०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा गरिएको संशोधनमा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सो को लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन भन्ने व्यवस्था रहेकोसमेत स्मरण गराएका छन् ।
उनलाई उपचारका लागि सहयोग जरुरत नै परेको खण्डमा देश विदेशमा रहेका सबै नेपाली हरदम तयार रहेको बताए ।
‘यस्तो बेलामा उहाँको विदेशमा गरेको उपचारको खर्च सरकारले व्यहोर्ने भन्ने विषय उठाइ उहाँको बारेमा अनावश्यक टीकाटिप्पणी गर्ने वातावरण बनाएर उहाँ र उहाँको परिवारलाई दुःखी नबनाऊँ।’ थापाले भने ।
मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा पुगेका प्रधानमन्त्री देउवाले खनालसँग टेलिफोन वार्ताका क्रममा उपचार खर्च सरकारको तर्फबाट बेहोर्ने बताएका थिए । थापाले यसअघिको सरकारले खनालको उपचार सरकारले व्यहोर्ने निर्णयको पनि विरोध गरेका थिए ।
फेसबुक पेज Like गर्नुहोस