काठमाडौं - जापान सरकारले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये शनिबार बिहान २ लाख ८ हजार ७ सय डोज खोप जहाजमार्फत काठमाडौँ आइपुगेको हो । 

स्वास्थ्य सेवा विभागका खोप शाखाका अनुसार १६ लाख डोजमध्ये ९ लाख खोप यसअघि नै आइसकेको र अब बाँकी रहेको खोप  आगामी सोमबार नेपाल आउनेछ । यसअघि ल्याइएकाे खोप चैतमा कोभिसिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षमाथिका नागरिकलाई लगाइएको छ। अब आउने खोप प्रदेश १ र २ मा कोभिसिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई  दिइने बताइएको छ । 

शुक्रबारसम्म ३७ लाख ९९ हजार १७८ जनाले कोरोना विरुद्धको पूर्ण र ४९ लाख ७ हजार ५२३ जनाले पहिलो मात्रा खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

सरकारले कोरोनाविरुद्ध भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिसिल्ड खोप लगाएकालाई दोस्रो मात्रा एस्ट्राजेनेकाको खोप दिँदै आएको छ । खोपको दोस्रो मात्रा १२ साताभित्र लगाउनुपर्ने भएपनि भारतबाट खरिद गरेको खोप उपलब्धमा ढिलाई हुने भएकाले वैकल्पिकका रुपमा एस्ट्राजेनेकाको खोप दिइएको हो ।