काठमाडौं - सामाजिक सुरक्षा भत्ता वितरणमा भ्रष्टाचार गरेको आरोपमा गाउँ विकास समितिका तत्कालीन अध्यक्षसहित १७ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । 

बाँकेको नरैनापुर गाउँ विकास समितिका तत्कालीन अध्यक्ष अजयकुमार श्रीवास्तव, कार्यालयका सचिवद्वय सावित राम कुर्मी, अशोक कुमार श्रीवास्तवलगायत १७ जनाविरुद्ध ६ लाख ५६ हजार ७०० रुपैयाँ हिनामिना गरेको आरोपमा आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो ।

अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार सामाजिक सुरक्षा भत्ता वितरणमा गाविस सचिव र मुखियाको मिलेमतो गरी नियम विपरीत भत्ता वितरण गरेको उजुरी परेको थियो । सोही उजुरीका आधारमा अनुसन्धान हुँदा साविक नरैनापुर गाउँ विकास समितिका तत्कालीन अध्यक्ष श्रीवास्तवसमेत १७ जनाको मिलेमतोमा सामाजिक सुरक्षा भत्ता वितरणमा हिनामिना गरेको खुल्न आएको अख्तियारको दाबी छ ।

सामाजिक सुरक्षा भत्ता वितरण गर्दा आर्थिक वर्ष २०५७/०५८ देखि २०७२/०७३ सम्म सामाजिक सुरक्षा भत्ता पाउन उमेर नपुगेका १९ जनालाई व्यक्तिलाई नागरिकतामा उल्लेखित जन्ममिति र नागरिकता जारी मिति अन्देखा गरी ज्येष्ठ नागरिक तथा दलित ज्येष्ठ नागरिकको रुपमा नागरिकताको प्रमाणपत्र नभएको व्यक्तिलाई एकल महिलाको रुपमा र भारतमा विवाह गरी गएका महिलालाई एक महिलाको रुपमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको उनीहरूमाथि आरोप छ ।

सामाजिक सुरक्षा भत्ता बुझ्ने व्यक्तिलाई समेत प्रतिवादी बनाइएको छ । साहजिमा खातुन, अवधराम बढही, राम जिवन पासी, मनोरानी अहिरनी, रामचन्द्र धोबी, लायसरीफ खाँ, मोमिना पठानीन, हामिया पठानीन, नन्कौ मुराउ, जंगली कडरिया, हरीराम अहिर, बारि खाँ, मोति भुजुवा र सन्तराम बडहीलाई प्रतिवादी बनाइ आरोप पत्र दायर भएको हो ।  उनीहरूविरुद्ध ६ लाख ५६ हजार ७०० रुपैयाँ बिगो,सजाय र कैद माग गरिएको छ ।