काठमाडौं - नेकपाको प्रचण्ड–नेपाल समूहको अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध प्रदर्शन गरेको बयलगाडा प्रहरीले खोसेको छ ।

प्रतिनिधि सभा भंग गरेको विरोधमा अनेरास्ववियूले दैनिक प्रदर्शन गर्ने क्रममा आज बयलगाडा प्रदर्शन गरेको थियो । ललितपुरको पाटनमा प्रदर्शनकारीहरुले बयलगाडा प्रदर्शन गर्दा प्रहरीले बल प्रयोग गरेर बयलगाडा खोसेको हो ।

ओलीले २०६२/२०६३ सालको जनआन्दोलनतामा ‘गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमेरिका पुग्नुजस्तै हो’ भनेका थिए । सोही विषयमा व्यंग्य गर्दै विद्यार्थीहरुले देशभर बयलगाडा प्रदर्शन गरिरहेका छन् ।

पाटनमा भने प्रहरीले बयलगाडा खोसेपछि केहीबेर स्थिति तनावग्रस्त भएको थियो। पुस ५ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भंग गर्दै निर्वाचनको मिति घोषणा गरेपछि नेकपाको प्रचण्ड–नेपाल समूह, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नागरिक समाज, कलाकार लगायतले उक्त कदमको विरोध गरिरहेका छन् ।

सो कदम असंवैधानिक भएको भन्दै सर्वोच्चमा पनि आधा दर्जनभन्दा बढी रिट परेका छन् । सो मुद्दा अदालतमा विचाराधिन छ ।