काठमाडौं - सत्तारुढ दल नेकपा एमालेले भोलि बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ।

भोलिको संसद्‍ बैठकमा सरकारले अध्यादेश प्रस्तुत गर्ने भएपछि एमालेले पनि ह्विप जारी गरेको हो । बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सरकारले ५ वटा अध्यादेश प्रस्तुत गर्ने भएको छ ।

सत्तारुढ दल कांग्रेसले पनि अध्यादेश स्वीकृतिका लागि आफ्ना सांसदहरूलाई ह्विप जारी गरिसकेको छ । प्रतिनिधिसभामा कांग्रेसका ८८ र एमालेका ७८ सांसद छन् ।

भूमिसहित ६ अध्यादेश राष्ट्रपतिबाट जारी भएको १ महिना बित्दा पनि सरकारले स्वीकृतिका लागि संघीय संसद्का दुवै सदनको कार्यसूचीमा राख्न सकेको छैन ।

प्रतिनिधिसभामा कांग्रेस र एमालेको बहुमत भए पनि राष्ट्रिय सभामा भने सत्तारुढ गठबन्धन अल्पमतमा छ । सरकारले भूमि सम्बन्धी बाहेकका ६ अध्यादेश पारित गर्नका लागि भोलि संसदमा पेस गर्दैछ ।

जसपा नेपाल र लोसपाले भूमि अध्यादेशको विपक्षमा देखिएपछि सरकारले त्यसलाई रोकेर अन्यलाई पारित गर्न प्रक्रियामा लाने भएको छ ।