काठमाडौं - राजधानीको पेप्सीकोला टाउनप्लानिङस्थित सनसिटी अपार्टमेन्टमा र्‍यापिड डाइगनोस्टिक टेस्टबाट पोजेटिभ देखिएका तीनमध्ये एकमा पीसीआर परीक्षणाबाट कोरोना नेगेटिभ देखिएको छ।

जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पीसीआर परीक्षणबाट एकजनामा कोरोना नेगेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।  

उनका अनुसार तीनैजनालाई अहिले पाटन अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ। सनसिटीका संक्रमित दुईजनासहित नेगेटिभ रिपोर्ट आएकी महिला बेलायतबाट चैतको पहिलो साता नेपाल आएका हुन्। संक्रमित ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिला हुन्। 

 बेलायतबाट आएका एकै परिवारमा कोरोना देखिएछि बुधबार त्यहाँ आरडीटी विधिबाट परीक्षण गरिएको छ। कागेश्‍वरी-मनोहरा नगरपालिकाका प्रवक्ता राजाराम पुडासैनी अनुसार आरडीटी विधिबाट गरिएको परीक्षणमा बेलायतको लण्डनबाट आएका परिवार बस्‍ने अपार्टेमन्टको ब्लक 'ए' का २९८ जनाको परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको हो।