काठमाडौं - साउथ इन्डियन फिल्मका सुपरस्टार नागा चैतन्य र समन्था अक्किनेनीले ४ वर्षको वैवाहिक सम्बन्ध विच्छेद गरेको घोषणा गरेका छन् । एक विज्ञप्ति जारी गर्दै उनीहरुले आफूहरु अब अलग हुने फैसला गरेको प्रतिक्रिया दिएका छन् ।

साथै उनीहरुले यस मुद्दामा गोपनीयता दिन पनि सञ्चारमाध्यम समक्ष आग्रह गरेका छन् । समन्थाले सामाजिक सञ्जालमा लेखेकी छन्, 'मैले र नागा चैतन्यले आफ्नो बाटोमा हिँड्नका लागि पति पत्नीको रुपबाट अलग हुने फैसला गरेका छौं । एक दशकभन्दा लामो मित्रता हाम्रो सम्बन्धको मुख्य हिस्सा थियो । साथै हामीलाई विश्वास छ कि हाम्रो बीचमा एक विशेष सम्बन्ध रहनेछ ।'

तर मिडियासमक्ष उनले गोपनीयताको माग समेत गरेकी छन् । उनले यस्तो कठिन समयमा आफूहरुलाई गोपनीयता र समर्थन चाहिएको भन्दै शुभचिन्तक र प्रशंसकहरुसँग अपिल समेत गरेकी छन् । उनले लेखेकी छन्, 'यो कठिन समयमा हाम्रो समर्थन गरिदिनुहोला जसले हामीलाई यसभन्दा अगाडि बढ्न मद्दत मिलोस् ।'

दुई चर्चित दक्षिण भारतीय कलाकारको सम्बन्ध विच्छेदबारे केही दिनदेखि नै भारतीय सञ्चारमाध्यमले समाचार बनाउँदै आएका थिए । सम्बन्ध विच्छेदको फैसलापछि समन्था र चैतन्यलाई अदालतमा परामर्श समेत दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस सम्बन्ध विच्छेदपछि अभिनेत्री समन्थाले ५० करोड रुपैयाँ पाउने बताइएको छ ।

समन्था अक्किनेनी र नागा चैतन्यले ६ अक्टोबर २०१७ मा गोवामा पहिले हिन्दू रीति रिवाज अनुसार र ७ अक्टोबरमा फेरि क्रिश्चियन रीति रिवाज अनुसार विवाह गरेका थिए । विवाहपछि समन्थाले आफ्नो नामको अगाडि अक्किनेनी जोडेकी थिइन् । जबकी सम्बन्ध विच्छेदपछि समन्थाले आफ्नो ट्वीटर ह्यान्डलबाट अक्किनेनी हटाएकी छन् । आगामी अक्टोबर ६ मा विवाहको चार वर्षगाँठ पूरा हुनुअघि नै उनीहरुले अलगिने घोषणा गरेका हुन् ।