लिभरपुल र सिटीको सहज जित, चेल्सीको फराकिलो हार
काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित हात पारेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले आर्सनलाई उसकै ३–० ले पराजित गरेको हो ।
खेलको पहिलो हाफमा गोल गर्न नसकेको लिभरपुलले दोस्रो हाफमा ३ गोल गर्न सफल भएको थियो । खेलको ६४ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए । ६८औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । त्यसपछि ८२औं मिनेटमा जोटाले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ३–० को सहज जित दिलाए ।
जितसँगै लिगको पाँचौं स्थानमा उक्लिएको लिभरपुलले ३० खेलमा ४९ अंक जोडेको छ । पराजित आर्सनल ४२ अंकसहित नवौं स्थानमा रहेको छ ।
यस्तै, अर्को खेलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले लेष्टर सिटीलाई २-०ले पराजित गरेको छ । सिटीले ३१ खेलमा ७४ अंक जोडेको छ भने पराजित लेष्टर ३० खेलमा ५६ अंकसहित तेस्रो स्थानमा छ ।
घरेलु मैदानमा चेल्सी रेलिगेसन जोनको वेस्ट ब्रुमसँग ५-२ले पराजित भएको छ । हारसँगै चेल्सीले ३० खेलमा ५१ अंक जोडेको छ । चेल्सी लिगको चौंथो स्थानमा रहेको छ । वेस्ट ब्रुम २१ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस