काठमाडौं - पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा रोमाञ्चक विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा पञ्जाबले राजस्थान रोयल्सलाई ४ रनले पराजित गरेको हो । 

जितको लागि २ सय २२ रनको विजयी लक्ष्य पछ्याएको राजस्थान २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १७ रनमा समेटियो ।  राजस्थानको लागि डेब्यु कप्तानीमा सञ्जु स्यामसनले कीर्तिमानी शतक प्रहार गरेपनि जित दिलाउन सकेनन् । 

स्यामसनले ६३ बलमा १२ चौका र ७ छक्का सहित सर्वाधिक १ सय १९ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । यस्तै, जोस बट्लर र परागले २५/२५ रन, शिवम डुबेले २३ रन जोडे । 

बलिङमा पन्जाबका अर्शदीप सिंहले ३ विकेट लिए । यस्तै, मोहम्मद शामीले २ तथा राइली मेरिडिथ र झेय रिचर्डसनले १–१ विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २१ रन बनाएको थियो । पन्जाबका लागि कप्तान लोकेश राहुल र दीपक हुडाले विष्फोटक इनिङ खेले ।

राहुलले ९१ रन बनाउँदा हुडाले ६४ रन जोडे । यस्तै, क्रिस गेलले ४० तथा जोड्दा मायांक अग्रवालले १४ रन बनाए । बलिङमा चेतन सकारियाले ३ विकेट लिए भने क्रिस मोरिसले २ तथा रियान परागले १ विकेट लिए ।