चौतर्फी विरोध र आलोचनापछि प्रदेशसभा सदस्य नरोत्तम वैद्यले माफी मागे
काठमाडौं - नेपाली कांग्रेस वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिँदै आत्मलोचनासहित माफी मागेका छन् ।
शुक्रबारको नीति तथा कार्यक्रमको छलफलमा सांसद वैद्यले महात्मा गान्धीको हत्यारा नाथुराम गोड्सेको नाम लिएर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आफू गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए । उनले भनेका थिए - ‘खड्गप्रसाद ओलीलाई नरोक्ने हो भने उनले यो देश खाइदिन्छन्। त्यसैले मेरो आग्रह छ, अब कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्यो मुलुक बचाउनलाई, कोही नाथुराम बन्न तयार छैन भने म बन्छु।’
तर, सो अभिव्यक्तिको चौतर्फी विरोध र पार्टीले नै अभिव्यक्ति फिर्ता लिन निर्देशन दिएपछि शनिबारको प्रदेशसभा बैठकमा वैद्यले आवेशमा आएर त्यस्तो अभिव्यक्ति दिएको भन्दै आत्मालोचना सहित अभिव्यक्ति फिर्ता लिएका हुन् । ‘मैले संसद्को रोस्ट्रममा उभिएर प्रतिक्रिया दिने क्रममा प्रधानमन्त्रीप्रति लक्षित गर्दै मबाट प्रयोग भएको शब्दहरु आपत्तिजनक र संसदीय मर्यादाविपरीत भएको भनी मेरो संसदीय दलले उक्त अभिव्यक्ति फिर्ता लिन निर्देशन गरेअनुसार आफ्नो भनाई फिर्ता लिन्छु ।’ उनले भने ।
आफूले बोलेको उक्त अभिव्यक्ति रेकर्डबाट हटाउनसमेत उनले प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ समक्ष आग्रह गरेका छन् । त्यसलगत्तै सभामुखले सो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिइसकेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस