काठमाडौं - आज अन्तर्राष्ट्रिय बाल अधिकार दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरि यो दिवस मनाइदै छ । २० नोभेम्बर १९८९ मा संयुक्त राष्ट्रसंघले बाल अधिकार सम्बन्धी महासन्धि पारित गरेको हुनाले हरेक बर्ष २० नोभेम्बरका दिन अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइन्छ ।

नेपालले संयुक्त राष्ट्रसंघीय बाल अधिकार सम्बन्धी महासन्धिलाई १४ सेप्टेम्बर १९९० मा हस्ताक्षर गरेको थियो । नेपालमा बालबालिकाहरूको हक अधिकार संरक्षणका लागि बालबालिका सम्बन्धि ऐन २०४८ र नियमावली २०५१, बालश्रम सम्बन्धि ऐन २०५६, बाल न्याय कार्यविधी लगायत लागू गरिएको छ ।

नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत धारा ३९ मा बालबालिकाको अधिकार सुनिश्चित गरिएको छ । नेपालमा १६ बर्ष मुनिका बालबालिकाको संख्या कूल जनसंख्याको ४१ प्रतिशत रहेको छ ।