काठमाडौं,एजेन्सी - पिएरे एम्रिक औबामियाङको ह्याट्रिकमा आर्सनलले प्रिमियर लिगमा सहज जित दर्ता गरेको छ । गएराति भएको खेलमा आर्सनलले लिड्स युनाईटेडलाई ४-२ले पराजित गरेको हो ।

खेलको १३ औं मिनेटमा औबामियाङले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा पेनाल्टीमा औबामियाङले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए । हेक्टर बर्लिनले ४५ औं मिनेटमा गाल गरेपछि आर्सनल ३०ले अघि बढ्यो । त्यसपछि ४७ औं मिनेटमा औबामियाङले ह्याट्रिक पूरा गरेपछि आर्सनलले ४-० को अग्रता लियो ।

खेलको ५८ औं मिनेटमा पास्कलले गोल गर्दै लिड्सलाई खेलमा फर्काउने कोसिस गरे । ६९ औं मिनेटमा लिड्सका कोस्टाले गोल गरे पनि टोलीलाई जित दिलाउन सकेनन् । आर्सनल ४-२ ले विजयी भयो ।

जितसँगै २४ खेलबा ३४ अंक जोड्दै आर्सनल १०औं स्थानमा उक्लेको छ । पराजित लिड्स भने २३ खेलबाट ३२ अंकसहित ११औं स्थानमा छ ।

यस्तै, अर्को खेलमा एभर्टन भने घरेलु मैदानमै पराजित भएको छ । रेलिगेनस जोनमा रहेको फुलहमसँग २-० ले पराजित भएको हो । एभर्टन २२ खेलबाट ३७ अंक जोडेर सातौं स्थानमा रहेको छ । फुलहम २३ खेलमा १८ अंक जोडेर १८औं स्थानमा यथावत छ ।