काठमाडौं - मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष प्रा. राजेन्द्र ध्वज जोशीले विश्वविद्यालयको नेतृत्व माथि दलिय राजनीति हुन नहुने बताएका छन् ।

संघीय संसद प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा अध्यक्ष जोशीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यायलयको अवधारणा तथा विशेषता सम्बन्धी जानकारी गराउँदै अन्य विश्व विद्यालयमा जस्तो दलिय राजनीति हावी हुन दिन नहुने बताएका हुन् ।

उनले देश चलाउने राजनीतिमा दलिय रजानीति आवश्यक भएको तर शिक्षा चलाउने शिक्षा नीतिमा दलिय राजनीति प्रवेश हुन दिन नहुने बताए । त्यस्तै विश्वविद्यायललाई सबै नेपालीले अपनत्व गर्ने गरी विकास गर्नुपर्नेमा समेत उनले जोड दिए ।

बैठकमा सांसदहरुले विश्वविद्यालयको स्ट्याण्डर्ड के हुने भन्ने विषयमा अझै स्पस्ट हुन नसकेको बताएका छन् । उनीहरुले विश्व स्तरको विश्वविद्यालय निर्माण गर्ने भनिएपनि विश्वका विश्वविद्यालयको अध्ययन नगरी निर्माण गर्न खोजिएको बताएका हुन् । सांसद मानबहादुर विश्वकर्माले अर्थमन्त्रालयका तथ्याङ्कहरु प्रस्तुत गरेर विश्वविद्यालयको अवधारणा बनाउन नहुने बताए ।

सांसद चित्रालेखा यादवले विश्व विद्यालयमा दलिय राजनीति हुन दिन नहुने भन्ने विषय उचित भएको तर दलिय राजनीति देखियो भने के गर्ने भन्ने विषय आउन नसकेको बताए ।