काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। मंगलबार साँझ राष्ट्रपति भवन शीतल निवासमा भण्डारी र ओलीबीच भेटवार्ता भएको हो।

स्रोतका अनुसार नियमित भेटघाटका लागि ओली शीतल निवास पुगेका हुन्। त्यस क्रममा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच कोरोना संक्रमण रोकथामका विषयमा कुराकानी भएको बताइएको छ। भण्डारीले कोरोनाविरुद्ध सबै नेपाली एकजुट भएर लाग्नुपर्नेमा जोड दिएकी छन्।

भेटमा प्रधानमन्त्री ओलीले कोरोना भाइरसविरुद्ध लड्दै गरेको लडाइँ र जनताको सुरक्षा तथा स्वास्थ्यलाई ध्यानमा राखेर लागू गरिएको लकडाउनका विषयमा भण्डारीलाई जानकारी गराएका थिए।