सुनसरी - सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा शनिबार साँझ गोली चलेको छ। गोली प्रहारबाट १९ वर्षीय निरज यादव गम्भीर घाइते भएका छन्।

स्थानीय लक्ष्मीनारायण मन्दिरअगाडि भएको घटनामा यादवको तिघ्रामा गोली लागेको हो।

घाइते यादवको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको गाउँपालिका अध्यक्ष वेचन मेहताले जानकारी दिए। घटनालगत्तै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। स्थानीयका अनुसार घटनामा संलग्न अन्य केही व्यक्ति फरार छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काले गोली प्रहार भएको पुष्टि गर्दै घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको बताए।

देवानगञ्जमा यसअघि पनि ठूलो हिंसात्मक घटना भएको थियो। गत साउन १० गते देवानगञ्ज–३, कप्तानगञ्जमा दुई पक्षबीच भएको झडपमा प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएको थियो।

उक्त घटनामा स्थानीय ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्र मेहताको मृत्यु भएको थियो। ओमप्रकाशको साउन १० गते राति, जयप्रकाशको साउन १४ गते र रवीन्द्रको साउन १९ गते उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको थियो।

कप्तानगञ्जको उक्त झडपको पृष्ठभूमिमा धार्मिक विवाद रहेको थियो। असार १४ गते मुस्लिम समुदायले मोहर्रम मेलाका क्रममा बजारको बीचमा झण्डा गाडेको र त्यसपछि साउनमा हिन्दु समुदायले बोलबमका अवसरमा सोही स्थानमा झण्डा गाडेपछि विवाद बढेको थियो।

वडाध्यक्ष र गाउँपालिका अध्यक्षसम्म पुगेको विवाद साउन १० गते बोलबम जाने युवाले मन्दिरमा ठूलो आवाजमा डिजे बजाएको विषयलाई लिएर दुई पक्षबीच झडपमा परिणत भएको थियो।