काठमाडौं - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अन्तत: शान्तिपूर्ण राजनीतिको बाटोमा फर्किएको छ। उक्त पार्टीका महासचिव विप्लव शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रममार्फत सार्वजनिक भएका छन्। उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव विप्लवको उपस्थितिमा दुई पक्षबीच तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ।   

सरकार र विप्लव पक्षका वार्ता टोलीबीच बिहीबार अन्तिम सहमति भएको थियो। सरकारका वार्ता टोली संयोजक एवं गृहमन्त्री रामबहादुर थापा, सदस्य प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टाई तथा विप्लवका वार्ता टोली संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र सदस्य उदय चलाउने ‘दीपक’ ले  सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

उक्त पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा गर्न सहमत भएको सहमतिपत्रमा उल्लेख छ। सरकारले उक्त पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका उसका नेता, कार्यकर्ता रिहाइ गर्न र सम्पूर्ण मुद्दा खारेज गर्न सहमति जनाएको छ। यस्तै, दुवै पक्ष राजनीतिक समस्या वार्ताबाट समाधान गर्न सहमत भएको जनाइएको छ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले अब मुलुकमा हिंसात्मक द्वन्द्व अन्त्य भएको घोषणा गरे। मुलुक अब शान्तिपूर्ण युगमा प्रवेश गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो। ‘देश शान्तिपूर्ण युगमा प्रवेश गरेको छ, अब हिंसात्मक द्वन्द्व छैन’, सहमतिपत्रमा हस्ताक्षरपछि उत्साहित देखिएका प्रधानमन्त्री ओलीले भने, ‘यो बाटोमा पनि कोही छैन।’

ओलीले विप्लवलाई शान्तिपूर्ण राजनीतिमा आएकोमा बधाईसहित स्वागत गरे। त्यति मात्र होइन, ओलीले शुभकामनासमेत दिए। उनले यो कदम ऐतिहासिक भएको धारणा व्यक्त गरे। ‘यो ऐतिहासिक योगदानप्रति राज्य र पार्टीको तर्फबाट हार्दिक धन्यवाद दिन्छु’, उनले भने। विप्लवले एउटै कदमले जनताको मन जितेको उल्लेख गर्दै उनले भने, ‘उहाँले एउटै कदमबाट जनताको मन जित्नुभएको छ। यो साहसिक कदम हो।’ उनले तीनबुँदे सहमति काफी भएको बताए। उनले भने, ‘यसमा धेरै कुराको निष्कर्ष छ।’ 

 अन्नपूर्ण पोष्ट दैनिकबाट