जाजरकोट - जिल्लाको भेरी नगरपालिका–४ का सुदीप खड्काको शरीरको चोट बिस्तारै ठिक हुँदैछ । तर, घटनाको पीडा र त्रास भने बढ्दो छ । बेलाबेला त्यही घटना सम्झेर झस्किन्छन्, अनि तर्सिन्छन् पनि ।

भेरी नगरपालिकाका नवराज विकसहित ६ जनाको ज्यान जाने गरी गत जेठ १० गते रुकुमको चोरजहारमा भएको घटनाका घाइते हुन् सुदीप । सुदीपसहित १२ जनाले बल्लतल्ल ज्यान जोगाए । 

तर उनीहरुलाई मरणासन्न हुनेगरी कुटिएको थियो । गाउँलेले चिर्पट, हँसिया, ढुंगाले हान्दाहान्दै सुदीपलाई प्रहरीले समातेर मिसन अस्पताल लगेको थियो । 

बेलाबेला उनलाई त्यही नवराज लगायतकाा साथीले ‘बचाउ बचाउ’ भनेको आवाज गुञ्जिरहन्छ । ‘मेरो आँखाअगाडि मारेर भेरीमा फालेको दृश्य फनफनी घुमीरहन्छ ।’

सुदीप मात्र होइन, घटनामा बाँच्न सफल १२ जनाको अवस्था यतिबेला असामान्य छ । प्रायः सबै घाइतेलाई मानसिक तनावमा छन् । 

 अन्नपूर्ण पोस्ट् दैनिकबाट