पुनः माओवादीमै फर्किएकी विमला वलीले आज पत्रकार सम्मेलन गर्ने
काठमाडौं, बुटवल - लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वलीले आज पत्रकार सम्मेलन गर्ने भएकी छिन् । पटक–पटक पार्टी परिवर्तन गरेकी तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित वलीले आज १ बजे पत्रकार सम्मेलन गर्न लागेकी हुन् ।
यसअघि नेकपा माओवादी केन्द्रमा रहेकी भनिएकी वलीले साउन १९ गते एक विज्ञप्ती जारी गरेर एमालेमा नै फर्किएको बताएकी थिइन् । तर, माओवादी केन्द्रले भने उनलाई कारबाही गर्ने बताएपछि उनी पुनः माओवादीमै फर्किएको बताइएको छ ।
पछिल्लो एक सातायता वली सार्वजनिक कार्यक्रममा देखिएकी छैनन् । उनी उपचारका लागि नेपालगञ्ज जाने भनिएको भए पनि माओवादी केन्द्रले भने सांसद सम्पर्कमा नरहेको बताएको थियो । कतिपय माओवादी नेताहरुले भने मुख्यमन्त्री निवासमा वलीलाई बन्धक बनाइएको बताइएको छ । उनी माओवादीमा फर्किएको र आज पत्रकार सम्मेलन गरिने माओवादीका नेताहरूले बताएका छन् ।
मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध विपक्षी गठबन्धनका सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका छन् । जसमा वलीको पनि हस्ताक्षर रहेको छ ।
दाङ निर्वाचन क्षेत्र नम्बर ३ ‘ख’ बाट निर्वाचित उत्तरकुमार वलीको मृत्यु भएपछि उनकी पत्नी विमला उपनिर्वाचनमा विजयी भएकी थिइन् । उनी एमालेबाट माओवादी केन्द्रमा फर्किएपछि ८० सदस्यीय प्रदेशसभामा नेकपा एमालेको सांसद संख्या ३८ मा झरेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस