काठमाडौं - बिहीबार साँझ थप तीन जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार योसँगै संक्रमितको संख्या ४५७ पुगेको छ। 

साँझ भेरी अस्पताल, नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देहीमा गरिएको परीक्षणमा नयाँ तीन जनामा कोरोना पुष्टि भएको हो।

कोरोना पुष्टि हुने बाँके नरैनापुर ३ का ३२ वर्षीय पुरुष, खजुरा–३ की ४२ वर्षीया महिला र कपिलवस्तु सुद्दोधन गाउँपालिकाका १९ वर्षीय पुरुष छन्। 

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ। यसअघि बिहीबार बिहानै १७ र दिउँसो ९ गरेर २७ जनामा कोरोना पुष्टि भएको थियो। योसँगै बिहीबार मात्र २९ जनामा कोरोना पुष्टि भएको छ।  नेपालमा कोरोना संक्रमितको संख्या ४५७ पुग्दा कोरोनाकै कारण तीन जनाको मृत्यु भइसकेको छ। ४९ जनाले भने कोरोना जितेर डिस्चार्ज भएका छन्।