काठमाडौं - रुपन्देहीको सम्मरीमाई गाउँपालिका ५ मा माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङ सेवा कार्यालयबाट सयौं जनताको करोडौं  रकम गायव भएको छ ।  उक्त घटनामा बैंकका एजेन्ट र कर्मचारीको मिलेमतोमा भएको हुन सक्ने आशंका गरिएको छ । 

बैंकप्रति जनताको आशा भरोसा र विश्वास हुन्छ तर बैंकका केही व्यक्ति र उच्च व्यवस्थापनको गलत नियत र गैर जिम्मेवार बन्दा निक्षेपकर्ताको रकम जोखिममा पर्ने खतरा हुन्छ  । माछापुच्छ्रे बैंक  गैर जिम्मेवार बन्दा रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा माछापुच्छ्रे बैंकका निक्षेपकर्ताको करोडौं रकम जोखिममा परेको छ ।

माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ सेवा कार्यालयबाट भएको बदमासीमा बैंक जवाफदेहि र जिम्मेवार बन्नु पर्छ, तर बैंक जिम्मेवार नहुदा रुपन्देहीको सम्मरीमाई गाउँपालिकाको जनता तनावमा छन् ।

यस विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालासंग कुरा गर्दा गैर जिम्मेवार जवाफ दिएका छन् । रुपन्देहीमा ठगिएका पीडितहरुलाई क्षतिपूर्ति कसरी प्राप्त हुन्छ भन्ने हाम्रो प्रश्नमा बैंकका प्रमुख कार्यकारी अधिकृत कोइरालाले  एजेन्टले  रकम हिनामिना गरेकाले बैंक जिम्मेवार नहुने गैर जिम्मेवार जवाफ दिएका छन् ।

बैंकले प्रहरीमा उजुरी समेत दिएको र एजेन्टले क्षतिपूर्ति दिने कोइरालाको भनाइ छ । कुराकानीको सुरुमा रकम हिनामिना गराउने एजेन्ट बैंकको सम्पर्क नरहेको बताउने कोइरालाले पछि बैंकको सम्पर्कमा भएको बताए  भने यति ठूलो रकम हिनामिना गर्ने व्यक्ति पक्राउ नपर्नुको कारण के हो ? भन्ने प्रश्न गर्दा  कोइरालाले भने प्रहरीमा उजुरी दिएका छौं रुपन्देही प्रहरीलाई सोध्नुहोला भन्ने जवाफ दिए । त्यसपछि हामीले रुपन्देही प्रहरीलाई सम्पर्क गर्दा बैंकबाट सामान्य निवेदन मात्र प्राप्त भएको र हाल सम्म जाहेरी भने नपरेको जवाफ प्राप्त भयो । निक्षेपकर्ताको करोडौं रकम हिनामिना हुनु रकम हिनामिना गर्ने व्यक्ति बैंकको सम्पर्कमा हुदाहुदै पनि हाल पक्राउ नपर्नुले बैंकका उच्च नेतृत्व र एजेन्ट बीच मिलेमतोमा सर्वसाधारण जनताको रकम हिनामिना गराउन खोजिएको भन्ने प्रश्न उठेको छ ।

यस विषयमा खबर एक्सप्रेसले बैंकका प्रमुख कार्यकारी अधिकृत ,रुपन्देही प्रहरी प्रमुख , बैंकका पीडित निक्षेपकर्ता सहितको भनाइ सहित विशेष रिपोर्ट तयार पार्नेछ ।