काठमाडौं - ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको दोभान बजारमा मंगलबार बिहानदेखि भीषण आगलागी भइरहेको छ । बिहान ९ बजेतिर एक घरबाट सल्किएको आगो बस्तीभरि फैलिएको हो ।

अहिलेसम्म आधाजति बजार जलिसकेको स्थानीयले बताएका छन् । स्थानीय गोपाल खवासका अनुसार आगो भोला पौडेलको घरबाट सल्किएको हो । पौडेलको घरमा रहेको कपडा पसलमा बिजुली सर्ट भएर आगो लागेको उनले जानकारी दिए ।

आगलागी नियन्त्रणका लागि सदरमुकाम फुङलिङ बजारबाट दमकल दोभान बजार पुगेको छ । आगलागी फैलन नदिन डोजरले कच्ची घरहरू भत्काइँदै छन् ।