काठमाडौं - मन्त्रिपरिषद्को बैठक मंगलरबार बस्दैछ । बिहान ११ बजे बोलाइएको मन्त्रिपरिषद् बैठकले एकसाता बन्दाबन्दी (लकडाउन) लम्ब्याउने तयारी रहेको स्रोतले बताएको छ ।

मुलुकभित्र कोरोना सङ्क्रमित बढिरहेको कारण गर्दा संक्रमण फैलिन नदिन थप कडाईका साथ एक साता लकडाउन लम्ब्याउने तयारी रहेको बताइएको छ ।

सरकारले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले चैत ११ गते बिहान ६ बजेदेखि एकसाता लकडाउनको घोषणा गरेको थियो ।

चैत १० गते बसेको मन्त्रिपरिषद् बैठकले आठदिन थपेर चैत २५ गतेसम्म पुर्‍याएको थियो ।

त्यसपछि सुदूरपश्चिम प्रदेशमा एकसाथ तीनजनामा सङ्क्रमित फेला पर्दै कोरोना नयाँ चरणमा प्रवेश गरेपछि चैत २४ गते बसेको मन्त्रिपरिषद् बैठकले थप आठदिन लम्ब्याउने निर्णय गरेको थियो । 

सोमबारसम्म कोरोना सङ्क्रमितको संख्या १४ पुगेको छ । सरकारले अन्तिमपटक थपेको लकडाउनको समयावधि बुधबार सकिँदैछ ।