काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आज शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ ।

हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु ,पश्चिमको भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्र साथै पूर्व-पश्चिम बनेको न्युन चापीय रेखा र बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभाव रहेको महाशाखाले जनाएको छ ।

हाल देशभर आंशिक देखि सामान्य बदली रही रहेको छ। महाशाखाका अनुसार दिउँसो भने देशभर सामान्य बदली रहि प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सूदूर पश्चिम प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ।

यस्तै, राती भने देशभर सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित वर्षाको संभावना रहेको जनाइएको छ ।