काठमाडौं - सामाजिक संजाल टिकटकमा चर्चित निकिशा श्रेष्ठको पक्षमा सामाजिक संजालमा आवाज उठेको छ । पछिल्लो समय केही युवाहरुले बाटोमा हिँडिरहेकी निकिशालाई दुव्र्यवहार गरेपछि उनलाई न्याय दिनुपर्ने भन्दै सामाजिक संजालमा आवाज उठ्न थालेको हो । 

केहीदिनअघि सामाजिक संजालमै सार्वजनिक भएको एक भिडियोमा बाटोमा हिँडिरहेकी निकिशलाई बाइकमा चढेका दुई युवाहरुले पटक–पटक अवरोध गर्दै दुव्र्यवहार र अपशब्द प्रयोग गरेका थिए । निकिशाले उक्त युवाहरुको दुव्र्यवहारलाई प्रतिरोध गर्न खोजे पनि युवाहरुले पटक–पटक उनीमाथि दुव्र्यवहार गरेको देखिन्छ । उनै निकिशालाई गरेको दुव्र्यवहार प्रति आक्रोशित हुँदै गायिका समृद्धि राईले युवाहरुलाई प्रहरीले पक्रिनुपर्ने बताएकी छिन् । निकिशाले आत्मसम्मानका साथ बाँच्नपाउनुपर्ने भन्दै उनले युवाहरुलाई पक्रिन प्रहरीसमक्ष अनुरोध गरेकी छिन् ।

त्यस्तै, अधिकारकर्मी मोहना अन्सारीले पनि निकिशामाथि भएको दुव्र्यवहारप्रति प्रहरी समक्ष प्रश्न गरेकी छिन् । उनले गायीका राईको ट्वीलाई कोट गर्दै भनेकी छिन्, ‘बाटो हिन्नै नमिल्ने हो, के को मात हो यो ?’

अन्य सर्वसाधरणहरुले पनि निकिशाले इज्जतका साथ बाँच्नपाउनुपर्ने भन्दै उनको पक्षमा आवाज उठाएका छन् ।

निकिशा श्रेष्ठ आफूलाई ट्रान्सजेन्डर महिलाका रुपमा परिचित गराउँछिन् । पुरुषका रुपमा जन्मिएकी उनले आफ्नो वास्तविक पहिचान महिला रहेको र महिला नै भएर बाँच्ने भनी आँट गरेर निकेश श्रेष्ठबाट नाम परिवर्तन गरी निकिशाका रुपमा आफूलाई स्थापित गरेकी छन् । टिकटकमा चर्चित उनले केही म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन् ।

यसअघि चर्चित युट्वुबर जेम्स श्रेष्ठले पनि निकिशालाई ‘अपमान’ गर्दै रियाक्सन भिडियो बनाउँदा जेम्सको पनि चर्को आलोचना भएको थियो ।