काठमाडौ - घरमा साढे तीन वर्षका छोरा छन् तर उनीसँग भेट्न नपाएको डेढ महिना हुन लाग्यो ।

बाजुराको बूढीगंगा नगरपालिका–१, धुराल्सैनस्थित आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अनमी दिया सिंह एक्लैको काँधमा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेका १७ जना, आरडीटी पोजिटिभ देखिएका २३ जना र चारवटा क्वारेन्टीनमा रहेका अन्य ५३ जनाको उपचार गर्ने जिम्मेवारी छ । ‘बच्चाको मायाले सताउँछ, तर के गर्नु कोरोना कहरले परिवार र बालबच्चाबाट टाढा गराएको छ,’ उनले भनिन् ।

केन्द्रमा संक्रमितको हेरचाह र उपचार गर्ने अर्को स्वास्थ्यकर्मी नभएकाले उनी घर जाने अवस्था छैन । ‘घरमा जाऊँ भने छरछिमेकीले पनि राम्रो मान्दैनन्,’ उनले दुखेसो पोखिन्, ‘त्यसमाथि केन्द्रको पूरा जिम्मेवारी काँधमा छ ।’ उनी उक्त केन्द्रमा एक वर्षदेखि अनमी पदमा करार सेवामा कार्यरत स्वास्थ्यकर्मी हुन् । वैशाखसम्म सामान्य अवस्थामै काम गर्नुपरे पनि जेठयता भने कामको चाप बढेको उनको भनाइ छ । ‘जेठ १० देखि स्थानीय बासिन्दा भारतबाट फर्किन सुरु भएपछि क्वारेन्टीन भरिभराउ भएका हुन्,’ उनले थपिन्, ‘जेठ १४ मा दुई वर्षीया बालिका बिरामी परेपछि त थप तनावका दिन सुरु भए ।’

कोरोनाविरुद्धको लडाइँमा अग्रमोर्चामा खटिँदा सबैभन्दा अप्ठ्यारो जेठ १४ गते राति पर्‍यो । धुराल्सैनको क्वारेन्टीनमा १ सय ८७ जनाको समूह थियो । त्यसमध्ये कुणी गाउँकी दुई वर्षीया बालिका सिकिस्त भइन् । ‘रातभर उपचारको अनेक प्रयत्न गरें,’ उनले भनिन्, ‘केही सीप नलागेपछि अर्को दिन बिहानै बच्चीका आमाबाबु सहितलाई सदरमुकाम मार्तडी पठाएँ ।’

मार्तडी पठाएको तेस्रो दिन ती बालिकाको उपचारक्रममा मृत्यु भयो । ‘उनको मृत्युको खबरले स्तब्ध भएँ । त्यसपछि उनकी आमामा पनि संक्रमण पुष्टि भयो । यो खबरले त झन् आत्तिएँ किनकि बच्चीको उपचार गर्ने क्रममा रातभर म सँगै थिएँ,’ उनले सुनाइन् । पछि पीसीआर परीक्षण गराउँदा उनको रिपोर्ट नेगेटिभ आयो ।

ती आमाछोरीलाई कोरोना संक्रमण भएपछि आफूलाई छरछिमेक र गाउँलेले हेर्ने दृष्टि बदलिएको उनले गुनासो गरिन् । ‘दुर्भावनाभन्दा पनि आफूहरूलाई कोरोना सार्छे कि भन्ने डरले होला गाउँले मेरो नजिक आउन र बोल्नै छाडे,’ उनले भनिन्, ‘त्यसपछि आफैंलाई पनि अप्ठ्यारो लाग्न थाल्यो ।’

उनलाई अहिले चारवटा क्वारेन्टीन र एउटा आइसोलेसन केन्द्रको जिम्मेवारी छ । धुराल्सैन मावि, अम्कोट, कुणीकोट र कुणी प्राविमा गरी चारवटा क्वारेन्टीन छन् । आइसोलेसन पनि धुराल्सैनमै छ । उनका अनुसार यी चारवटा क्वारेन्टीन झन्डै एक घण्टाको पैदल दूरीमा छन् । ‘मेयर साप र जिल्लाका प्रमुखहरू बेलामौकामा आएर प्रोत्साहन गरिरहनुहुन्छ,’ उनले भनिन्, ‘त्यस बेला आफूले जोखिम मोलेर काम गरेकामा खुसी लाग्छ ।’ बूढीगंगाका नगरप्रमुख दीपकविक्रम शाहले दियाको खटाइको प्रशंसा गरे ।

आशा थापाको दैनिकी पनि दियाको भन्दा फरक छैन । बूढीगंगा नगरपालिकाअन्तर्गतकै आधारभूत स्वास्थ्य केन्द्र, ताप्रामा करार सेवामा कार्यरत अनमी हुन् उनी पनि । उनी एक्लैको काँधमा ताप्राकै वसन्त प्रावि, ताप्रिसेरा प्रावि, चैतेपीपल र बजेडी आधारभूत विद्यालयमा स्थापित चारवटा क्वारेन्टीनमा रहेकाहरूको रेखदेख गर्ने जिम्मेवारी छ । ती क्वारेन्टीनमा आइतबारसम्म एक जना संक्रमितसँगै १ सय २४ जना आरडीटी पोजिटिभ भेटिएका र अन्य ६० जना रहेको उनले जनाइन् । ‘१७ वर्षीया एक युवतीमा कोरोना पोजिटिभ देखिएको छ, उनको विशेष हेरचाह गर्ने गरेकी छु,’ आशाले भनिन् ।

क्वारेन्टीनबीचको दूरी नजिक छैन । त्यसकारण पनि पालो लगाएर क्वारेन्टीनमा पुग्नुपर्ने बाध्यता रहेको उनले सुनाइन् । महामारीमा सेवा गर्न पाएकोमा खुसी लाग्ने बताएकी उनलाई केही घटनाले भने दुखित बनाएको रहेछ । शनिबार बजेडीस्थित क्वारेन्टीनका आरडीटी पोजिटिभ देखिएकाहरूले पीसीआर रिपोर्ट समयमै नआएको भन्दै उनलाई दुर्व्यवहार गरे । ‘सात दिनसम्म पनि पीसीआर रिपोर्ट नआएको भन्दै उनीहरूले कि चाँडो रिपोर्ट चाहियो, कि त घर जान पाउनुपर्‍यो भन्दै दुर्व्यवहार गरे,’ उनले भनिन्, ‘पीसीआर रिपोर्ट चाँडो आउने कुरा मेरो हातमा छैन भनेर सम्झाउँदा पनि मानेनन् ।’

टाँटे स्वास्थ्य चौकीका इन्चार्ज दीपक शाह करार सेवामा कार्यरत स्वास्थ्यकर्मीहरूको खटनपटन चुनौतीपूर्ण र महत्त्वपूर्ण दुवै रहेको बताउँछन् । ‘आशा, दियालगायत अनमी र स्वाब संकलन गर्दै हिँड्ने दीपक थापाको मिहिनेतको जति प्रशंसा गरे पनि कमै हुन्छ,’ उनले भने, ‘तर जनशक्तिको अभावमा एक्लैको भरमा त्यत्रा मानिसको हेरचाह र उपचारको जिम्मा लगाउनुपरेको छ ।’

बुढीगंगा नगरपालिकामा ११ अनमि, ७ अहेब र ३ ल्याबका स्वास्थ्यकर्मी करार सेवाका छन् । नगरप्रमुख शाहले पालिकामा दरबन्दीका स्वास्थ्यकर्मी कम भएकाले करारकालाई खटाउनुपरेको बताए । पालिकाका १२ स्वास्थ्य संस्था सञ्चालनका लागि १७ जना दरबन्दीका स्वास्थ्यकर्मी कार्यरत छन् ।

स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले जिल्लाभरि १ सय ६३ वटा क्वारेन्टीन सञ्चालन गर्नॅपरेकाले स्वास्थ्यकर्मीको अभाव भएको बताए । स्वास्थ्य चौकीमा नियमित सेवा र हेल्थ डेस्कसमेत सञ्चालन गर्नुपर्दा जनशक्ति अभाव भइरहेको उनको भनाइ छ । जिल्लाभर सय जनाभन्दा बढी करार सेवाका स्वास्थ्यकर्मी छन् । 

कान्तिपुर दैनिकबाट