'माधव नेपालको प्युसो उम्रिन पाएको छैन एमालेसँग लड्ने सपना देख्छ’ : ओली
काठमाडौं, पोखरा - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको पार्टीलाई ‘प्युसो’ अर्थात फुच्चे पार्टीको संज्ञा दिएका छन् । मंगलबार पोखरामा आयोजित कार्यकर्ता भेलामा ओलीले सत्तारुढ दल नेपाली कांग्रेसले एमालेसँग लड्न आँट नगरेको बेला नेपालको प्युसो पार्टीले एमालेसँग लड्न सपना नदेख्न व्यंग्य प्रहार गरे ।
उनले भने, ‘एमालेसँग काँग्रेस लड्न आँट गरेको छैन, माधव नेपालको प्युसो उम्रिन पाएको छैन एमालेसँग लड्ने सपना देख्छ ।’ कार्यक्रममा अध्यक्ष ओलीले अब विपक्षीहरूले एमालेलाई एक्लै हेर्न नसक्नेसमेत ठोकुवा गरे । उनले भने, ‘विपक्षीहरूले एमालेलाई एक्लै हेर्न पनि सक्दैनन् लड्ने त कुरा त परकै भयो ।’
पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले पाँच भाई मिलेर आफ्नो नेतृत्वको सरकार ढालेको र स्वार्थको खेल सुरु भएको पनि आरोप लगाए । साथै, संसद्ले काम गर्न नसक्ने र बच्न नसक्ने अवस्था उत्पन्न भएपछि आफूले विघटन गरेको बताए । संसद विघटनको सदर र बदर पहिलेदेखि नै चलि आएको पनि उनले बताएका छन् ।
फेसबुक पेज Like गर्नुहोस