काठमाडौं - राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सभाका सदस्यले मन्त्रिपरिषद् चाँडो विस्तार गरी प्राकृतिक विपत्ति र कोरोना महामारी रोकथाममा उच्च प्राथमिकता दिन सरकारसँग आग्रह गरेका छन् ।

बैठकमा सदस्य डा विमला राई पौड्यालले छिटो मन्त्रिपरिषद् विस्तार गर्न र सरकार संसद्प्रति जवाफदेही बन्न आग्रह गरिन् ।  सदस्य डा खिमलाल देवकोटाले सरकार पारदर्शीरुपमा सञ्चालन हुनुपर्नेमा जोड दिँदै ज्येष्ठ नागरिकका मुहारमा खुशी ल्याउने कार्यक्रम ल्याउन सुझाव दिए । 

सदस्य शेरबहादुर कुँवरले दार्चुलामा तुइनबाट सीमापार गर्न लाग्दा बेपत्ता भएका नागरिकका सम्बन्धमा सरकारले देशको स्वाभिमान उँचो राख्ने गरी प्रभावकारी छानविन गरी काम गर्न माग गरे ।