गठबन्धन आगामी निर्वाचनसम्मै टिक्ने उपप्रधानमन्त्री सिंहको दाबी
बागलुङ - उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान गठबन्धन आगामी निर्वाचनसम्मै टिक्ने दाबी गरेका छन् ।
बागलुङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री सिंहले सो दाबी गरेका हुन् ।
उनले देशमा अस्थिरता अन्त्यको लागि नेपाली काँग्रेस र नेकपा एमालेको सरकार बनेको बताउँदै आगामी निर्वाचनसम्म नै सरकार सञ्चालन हुने बताए ।
उनले सरकारको अस्थिरताले विकास निर्माण ठप्प भएको र नागरिकहरूमा निराशा बढेपछि त्यसको अन्त्यको लागि ठूला दल मिलेर सरकार निर्माण गरिएको बताए ।
उपप्रधानमन्त्री सिंहले भने, ‘देशमा सरकार बन्ने र ढल्ने गर्दा अस्थिरता मौलाउँदै गएको थियो । पहिलो ठूलो दल नेपाली काँग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेले अस्थिरता अन्त्यको लागि गठबन्धन गरेर सरकार निर्माण भएको हो । बाहिर सरकारको आयु छैन भन्ने हल्ला आएपनि त्यसमा सत्यता छैन । अहिलेको गठबन्धनको सरकार आगामी निर्वाचन २०८४ सालसम्मै टिक्छ। ’
अहिलेको सरकार स्थायित्व र नागरिकको पक्षमा काम गर्न थालेको सिंहले बताए । उपप्रधानमन्त्री सिंहले नागरिकलाई छिटो र छरितो माध्यमबाट सेवा दिनको लागि सरकारले अध्यादेश ल्याएको बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस